काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावमा पार्टीका उम्मेदवारहरूलाई मतदान नगर्ने जिम्मेवार नेताहरूलाई कारबाही गर्ने भएको छ।
बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका जनवर्गीय संगठनका अधयक्षसँग भएको छलफलमा बोल्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते सम्पन्न चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा मतदान गर्ने नेताहरूलाई कारबाही गर्ने बताएका हुन्।
‘को-कोले भोट हालेनन्। केन्द्रीय सदस्यहरू, प्रदेश सदस्यहरू, तपाईंका जनवर्गीय संगठनका केन्द्रीय नेताहरू को क्षेत्रमा गएनन्? कसले भोट हालेनन्? कसले घन्टीमा हाले? त्यो रिपोर्ट तपाईंहरुले दिनै पर्यो हामीलाई,’ उनले भने। त्यस्ता नेताहरूलाई कारबाही नगरे पार्टी बनाउन नसकिने प्रचण्डले बताएका थिए।
‘तिनलाई कारबाही गर्नैपर्छ। नत्रभने पार्टी बनाउन सकिँदैन। त्यसकारण तिनिहरूलाई कारबाही गरिन्छ र सबैभन्दा पहिले केन्द्रीय सदस्यबाट सुरू गरिन्छ,’ उनले भने। संयोजक प्रचण्डले ५० प्रतिशत नेताले घन्टीमा भोट गयो भन्ने प्रारम्भिक रिपोर्ट प्राप्त भएको पनि बताए। त्यसबारे ठोस विवरण ल्याउन पनि उनले आग्रह गरे।
‘ठोस ल्याउनुस् क-कसले हालेनन्, को-को घन्टी तिर गएको देखियो? तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं,’ उनले भने, ‘पार्टी पुनर्गठन त्यहीँबाट सुरू गर्ने हो। नयाँ पार्टी बनाउने काम पनि यहीँबाट सुरू गर्ने हो।’









