काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सर्कुलर जारी गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले शुक्रबार वडा, पालिका, निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति, राष्ट्रिय समिति र प्रदेश समितिहरुले आ–आफ्नो क्षेत्र र तहको निर्वाचनसम्बन्धी समीक्षा बैठक राखी छलफल र चुनावी विश्लेषण तथा समीक्षा गरी लिखित प्रतिवेदन पठाउन पार्टी मातहत समितिलाई सर्कुलर जारी गरेको सो पार्टीका नेता पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
चुनावी प्रतिवेदन पार्टी समिति र पार्टीका उम्मेदवारहरुले समेत आफ्नो छुट्टै समीक्षा प्रतिवेदन वा चुनावी रिपोर्ट पठाउन सक्ने बस्नेतले बताए । चैत्र २० गतेभित्र चुनावी प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने गरी निर्देशन जारी गरिएको बताइएको छ ।









