काठमाडौँ : कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा सांसदहरूले बलात्कारको विरुद्धमा कडा कानुन बनाउनु पर्ने माग राखेका छन्।
सोमबारको प्रदेश सभाको शून्य समयमा बोल्दै सांसदहरूले बलात्कार्पछि हत्या भएको घटनामा मृत्युदण्डको कानुनी व्यवस्थाको माग गरेका हुन्। सांसदहरूले विशेष गरी महिला तथा बालिकामाथि हुने बलात्कारका घटना र शान्ति सुरक्षाको फितलो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सांसद गोपालबहादुर विश्वकर्माले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न हुनेहरूलाई मृत्युदण्डको कानुनी व्यवस्था गर्नुपर्ने माग राखे। महिला तथा बालबालिका अहिले पनि असुरक्षित रहेको जिकिर गर्दै अब मृत्युदण्डको कानुनी व्यवस्था ल्याउनु पर्नेमा जोड दिए।
एमालेकी सांसद मिना श्रेष्ठले धेरै बालिकाहरू बलात्कारको सिकार भइरहेकोले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताइन्।उनले कडा कारबाहीका लागि कानुनी प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।
उनले भनिन्, ‘बलात्कारपछि हत्या गर्ने जघन्य प्रकृतिका घटनाका दोषीलाई कानुनी दायरामा ल्याई नेपालमा मृत्युदण्ड दिने खालको कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दछु।’









