क्रिप्टोकरेन्सी कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

२०८२ चैत्र १३, शुक्रबार

काठमाडौ: काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलबाट अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न एक बंगलादेशी नागरिकलाई प्रहरीले ठूलो परिमाणको दसीका सामानसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार राति ठमेलस्थित छायाँ सेन्टर नजिकैबाट २९ वर्षीय बंगलादेशी नागरिक एमडी सिहाबुल इस्लामलाई नियन्त्रणमा लिएको हो।

बंगलादेशको पाब्ना घर भई हाल ठमेलमै बस्दै आएका इस्लामले मोबाइल एपमार्फत अवैध रूपमा डिजिटल मुद्राको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका इस्लामको मोबाइल फोनमा ३० लाख ४९ हजार ७ सय ३६ रुपैयाँ ९३ पैसा बराबरको ‘यूएसडीटी’ लगायतका अन्य क्रिप्टोकरेन्सीको कारोबार भएको भेटिएको छ।

नेपालमा क्रिप्टोकरेन्सीको प्रयोग र कारोबार पूर्ण रूपमा प्रतिबन्धित रहेकाले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २६२ (क) बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

प्रहरीले इस्लामको साथबाट विभिन्न बैंकका ३३ थान चेकबुक, ७ थान एटीएम कार्ड र बैंक खाता खोल्न प्रयोग गरिने ७ थान केवाइसी फारम समेत बरामद गरेको छ। यसले उनले ठुलो सञ्जाल बनाएर बैंकिङ प्रणालीमार्फत नै अवैध धन ओसारपसार गरिरहेको हुनसक्ने आशंका उब्जाएको छ। यसका साथै उनको साथबाट ९ थान सिमकार्ड, २ थान मोबाइल फोन, ६० हजार नेपाली नगद र एमडी मोस्ताहिन फाहमिदको नाममा काटिएको २ लाख रुपैयाँको चेक समेत बरामद भएको छ।

पक्राउ परेका बंगलादेशी नागरिकले नेपाललाई ट्रान्जिट बनाएर वा यहाँ बसेर अन्तर्राष्ट्रिय स्तरमा अवैध डिजिटल मुद्राको कारोबार गरिरहेको हुनसक्ने प्रहरीको अनुमान छ। बरामद गरिएका कागजात र उपकरणहरूको सुक्ष्म अध्ययन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार