काठमाडौं : भोलि देखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले बिहीबार बिहान ८ बजेदेखि हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार यस वर्ष ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।
एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ। जम्मा ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने उनले जानकारी दिए।
सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन्। ज्ञवालीका अनुसार काठमाडौंका १ सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदैछन्। सबैभन्दा कम मनाङमा एउटा मात्र परीक्षा केन्द्र रहेको छ जहाँबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन्। जापानमा रहेको केन्द्रबाट भने २३ जना विद्यार्थी सहभागी हुनेछन्।









