रवि लामिछानेलाई अदालतले दियो वारेस राख्ने अनुमति

२०८२ चैत्र ३०, सोमबार

काठमाडौं : ठगी तथा सङ्गठित अपराध मुद्दाका प्रतिवादी रवि लामिछानेलाई चितवन जिल्ला अदालतले वारेस नियुक्त गर्ने अनुमति दिएको छ।

सोमबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो। लामिछानेले आफू बिरामी भई काबु बाहिरको परिस्थितिले गर्दा तारेखमा उपस्थित हुन नसक्ने अवस्था हुँदा वारेस नियुक्त गर्न अनुमति पाऊँ भनेर निवेदन दिएका थिए।

सोमबार लामिछानेको स्वास्थ्यमा समस्या र कार्यव्यस्तताका कारण नियमित रूपमा तारेखमा उपस्थित हुन नसक्ने भन्दै अधिवक्ता रामचन्द्र देवकोटाले बहस गरेका थिए। देवकोटाले अदालतले लामिछानेको स्वास्थ्य अवस्था र मुद्दाको प्रकृतिलाई ध्यानमा राख्दै अवधि नतोकी वारेसको सुविधा प्रदान गरेको जानकारी दिए।

अदालतको आदेशमा लामिछानेले पेस गरेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टलाई मुख्य आधार मानिएको छ। रिपोर्टमा उनको प्रोस्टेटमा समस्या रहेको उल्लेख छ। साथै लामिछाने ५४ लाख रुपैयाँ धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएर तारेखमा रहेको र उनीमाथि लागेको ठगीको अभियोग मिलापत्र हुन सक्ने प्रकृतिको रहेकाले पनि वारेस राख्न दिनु मनासिब देखिएको आदेशमा उल्लेख छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५ (२) बमोजिम दिइएको यो अनुमतिसँगै लामिछानेले अब आफ्नो तर्फबाट प्रतिनिधि पठाएर कानुनी प्रक्रिया पूरा गर्न पाउनेछन्। उनी सोमबार पनि तारेखका लागि चितवन जिल्ला अदालतमा उपस्थित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार