राजवंशी समुदायमा ‘सिरुवा पर्व’को उल्लास

२०८३ बैशाख १, मंगलवार

झापा : पूर्वी नेपालका आदिवासी राजवंशी समुदायले मनाउने सबैभन्दा ठूलो चाड ‘सिरुवा पावनी’ आजदेखि सुरु भएको छ । हरेक वर्षको वैशाख १, २ र ३ गते सिरुवा पावनी मनाउने प्रचलन छ ।

राजवंशीसँगै ताजपुरिया र गनगाई समुदायले समेत मनाउने यस पर्वको आज पहिलो दिनलाई जल सिरुवा, दोस्रो दिनलाई कादो सिरुवा र अन्तिम दिनलाई रङ सिरुवा भनिने गौरीगञ्जका आत्माराम राजवंशीले बताए । उनका अनुसार जल सिरुवामा एकले अर्कोलाई पानी छ्याप्ने, कादो सिरुवामा हिलो छ्याप्ने र रङ सिरुवामा अबिर दलेर शुभकामना तथा आपसी सद्भाव व्यक्त गर्ने प्रचलन रहिआएको छ ।

पहिलो दिन पानी सिरुवामा महिलाहरूले सात प्रकारका हरियो सब्जी पकाउने चलन छ । यसलाई ‘सात सागी’ भनिन्छ । त्यसरी पकाएको सब्जीलाई राखेर भोलिपल्ट कादो सिरुवाका दिन पन्ता भातसँग खाने चलन छ । सात सागीसँगै अठिया केराको सेवन पनि गर्ने चलन छ । औषधीय गुण भएको यो केराको गुदीमा दानाको मात्रा धेरै हुन्छ । झाडा पखाला र पेटको जलन हुँदा आरामका लागि यसको सेवन गरिँदै आएको छ ।

सिरुवा पावनीमा नयाँ वर्षभरि कसैलाई रोगव्याधि नलागोस् भनेर कामना गरिन्छ । सार्वजनिक स्थानमा घाटोसरी बनाउने र घाटोसरी भजन गाउने विशेष प्रचलन छ । सिरुवा पर्व सद्भाव साटासाट गर्ने पर्व हो । यसमा ग्रामथान र नदी गएर पूजापाठ गर्ने, मौलिक परिकार खाने र संस्कृति झल्किने विविध कार्यक्रम गरिन्छ ।

मौलिक भाषा, भेषभुषा र संस्कृति रहेको यस समुदायको मुख्य बसोबास झापा, मोरङ र सुनसरीमा रहेको छ । २०७८ को जनगणनाअनुसार राजवंशीको कूल जनसङ्ख्या एक लाख ३२ हजार ५६४ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार