काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यातायात सेवा प्रणालीलाई प्रविधिमैत्री, सेवाग्राहीमैत्री र गुनासोरहित बनाउन निर्देशन दिएका छन् ।
यातायात सेवा प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा ठोस नीति तथा कार्यान्वयनयोग्य सुधारका उपायहरु अघि बढाउनुपर्ने बताउँदै उनले नागरिकले प्राप्त गर्ने सेवामा सहजता, पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने बताए ।
सेवामा सरलीकरण, प्रविधिको अधिकतम प्रयोग, भीडभाड नियन्त्रण र बिचौलिया अन्त्यका लागि यातायात व्यवस्था कार्यालयहरुले भूमिका खेल्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले त्यसका लागि आवश्यक ऐन, कानुन निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रभातकुमार तामाङ, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीलगायत सहभागी थिए ।





