काठमाडौं : प्रधानमन्त्री बालेन शाहले वरिष्ठताका आधारमा अगाडि रहेका न्यायाधीशहरूलाई छाडेर डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्दा ‘परम्परा’ मात्रै हेरेर बस्न नसकिने तर्क गरेका छन् ।
संवैधानिक परिषद्को बिहीबारको बैठकमा उनले विगतको अभ्यास तोड्दै रोलक्रमको चौथो नम्बरमा रहेका शर्माको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले असहमति जनाएका थिए ।
बैठकमा प्रधानमन्त्रीले अब केवल परम्पराका आधारमा निर्णय गर्न नहुने, न्याय सम्पादन क्षमता र विज्ञतालाई पनि ध्यान दिनुपर्ने भन्दै आफ्नो प्रस्तावको पक्षमा समर्थन जुटाउने प्रयास गरेका थिए ।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि वरिष्ठताक्रमअनुसार सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र त्यसपछि मनोजकुमार शर्मासहित ६ जनाको नाम संवैधानिक परिषद्मा पठाएको थियो ।





