काठमाडौँ : रवीन्द्र मिश्रले नेपाली काङ्ग्रेसका सभापति गगन थापाको राजनीतिक वैचारिकता र काङ्ग्रेसको वर्तमान दिशामाथि गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत सभापति थापालाई ‘गगन जी’ भन्दै सम्बोधन गरेर मिश्रले काङ्ग्रेसको ‘प्रचण्डमार्गी’ पाराले देश र जनताले दुःख पाएको आरोप लगाएका हुन्।
सभापति थापाले हालै व्यक्त गरेको एउटा भनाइ— ‘मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु। यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो, यो जुत्तामा खुट्टा हालेको कांगेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको?’ प्रति टिप्पणी गर्दै मिश्रले सोधेका छन्, ‘तपाईंको तलको वाक्यको अन्तर्य के हो? जिब्रो नचपाइ भन्नोस् है।’
नेता मिश्रले ‘बीपीपथ’ को वास्तविक अर्थ ‘पृथ्वीपथ’ (पृथ्वीनारायण शाहको विचार) भएको दाबी गर्दै थापा अहिले हिँडेको बाटो ‘प्रचण्डपथ’ भएको टिप्पणी गरेका छन्। उनले थापालाई चुनौती दिँदै भनेका छन्, ‘प्रचण्डपथबाट वीपीपथमा आउन तपाईंले बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्था अङ्गार गर्नै पर्ने हुन्छ। के तपाईं त्यसका लागि तयार भएको हो?’ ‘प्रचण्डको जुत्ता लाएर, प्रचण्डको संविधान २०७२ को भारी बोकेर र प्रचण्डवादको प्रखर वकालत गरेर काङ्ग्रेसको भलो नहुने’ भन्दै उनले बाजी राख्न समेत चुनौती दिएका छन्।
काङ्ग्रेसले वीपीपथ छोडेर प्रचण्डपथ अङ्गालेकै दिनदेखि उसको पतन सुरु भएको मिश्रको भनाइ छ। यद्यपि, ढिलै भए पनि सभापति थापाले वीपीपथ अङ्गाल्ने जुन संकेतहरू दिएका छन्, त्यसलाई उनले स्वागतयोग्य भनेका छन्। उनले थपेका छन्, ‘यो देश र राजनीतिलाई ट्रयाकमा ल्याउन वीपीमार्गी काङ्ग्रेस अत्यावश्यक छ भन्नेमा म विश्वस्त छु।’
खाली राजनीतिक फाइदाका लागि मात्रै मान्छेहरूलाई कन्फ्युज पार्न खोजिएको हो भने त्यो प्रत्युत्पादक हुने मिश्रले सचेत गराएका छन्। बजारमा काङ्ग्रेसभन्दा धेरै आकर्षक, क्षमतावान् र लोकप्रिय प्रचण्डमार्गीहरू नयाँ नामका साथ आइसकेको भन्दै मिश्रले भनेका छन्, ‘त्यस्तै पर्यो भने, उनीहरूले नै तपाईंहरूभन्दा पहिले राजसंस्था अङ्गाल्न सक्छन्, याद गर्नुहोला!’
काङ्ग्रेसले इतिहासबाट प्रेरणा लिएर समयमै बाटो सच्याउनुपर्ने सुझाव दिँदै मिश्रले चेतावनीपूर्ण शैलीमा भनेका छन्, ‘अन्यथा प्रचण्डको फेरो समाएर प्रचण्डसँगसँगै चाउरिएर जानुहोला।’






