काठमाडौं : नेपाली फिल्म काजी आजदेखि देशभर प्रदर्शनमा आएको छ । विशुद्ध प्रेमकथामा आधारित उक्त फिल्मले नयाँ पुस्तालाई प्रेमको महत्व र समर्पणको भावना बुझाउने विश्वास निर्माण पक्षले लिएको छ ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् । फिल्ममा विपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा र प्रशंसा सुवेदीलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् भने छायाङ्कन निर्देशन चिन्तन राजभण्डारीले गरेका छन् । कालीप्रसाद बास्कोटाको सङ्गीत, सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत तथा कविराज गहतराजको नृत्य निर्देशन रहेको फिल्ममा नेहान रिजाल र विकासराज जोशी निर्माता रहेका छन् । फिल्म ‘काजी’लाई श्रीराम बालाजी फिल्म्सले वितरण गरिरहेको छ ।








