काठमाडौँ : राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पिपयनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा भारतसँग नेपाल ३–२ सेटले पराजित भएको हो । प्रतियोगितामा खेलको पहिलो सेट नेपालले जित्यो । त्यसपछि लगातार दुई सेट गुमाएको नेपालले चौथो सेट आफनो पक्षमा पा¥यो तर खेलको पाँचौ तथा अन्तिम सेटमा पराजित हुन पुग्यो ।
पहिलो सेटमा २५–२० ले जितेको नेपालले त्यसपछि लगातार दुई सेट २५–२० र २५–१९ ले पछि प¥यो । खेलको चौथो सेटमा नेपालले २५–२१ ले आफनो पक्षमा पारेपनि त्यसपछिको पाँचौ तथा अन्तिम सेट भारतले १५–९ ले जित्यो र नेपाल भारतसँग सँग पराजित हुन पुग्यो । घरेलु दर्शककको भरपुर साथ पाएको नेपालको खेल हेर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि सहभागी थिए ।
विभिन्न आठ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारतसँगै कीर्गिस्तान र माल्दिभ्स छन् ।











