काठमाडौँ : ओलीनिकट मानिएका विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले नै राजीनामा मागेपछि एमाले अध्यक्ष केपी ओलीमाथि उच्च नैतिक दबाब परेको छ ।
शुक्रबार सचिवालय बैठकमै चार उपाध्यक्षले चुनावी हार र पार्टी संकटको नैतिक जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्ने भन्दै पार्टीलाई संकटबाट बचाएर पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न भन्दै अध्यक्ष ओलीले राजीनामा गर्नुपर्ने माग गरेका छन् । करिब ६ घण्टा चलेको बैठकमा पार्टी र आन्दोलन संकटमा परेको नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिई पार्टी पुनर्गठनको ढोका खोल्न उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्षले ओलीसँग माग गरे ।
पाँचमध्ये पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मात्र ओलीले राजीनामा दिनुपर्ने कुनै कारण नै नरहेको भन्दै नेतृत्वको प्रतिरक्षा गरेका थिए । उपाध्यक्ष पौडेलसहित पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले अध्यक्ष केपी ओलीले नैतिक जिम्मेवारी वहन गर्दै नेतृत्व परिवर्तनका लागि मार्ग खुला गर्नुपर्ने धारणा राख्दै राजीनामाको माग गरेका छन् ।
उनीहरूले पार्टीलाई वर्तमान संकटबाट बाहिर निकाल्न व्यापक पुनर्गठन अपरिहार्य रहेको उल्लेख गर्दै आवश्यक परे आफूहरूसमेत जिम्मेवारी त्याग्न तयार रहेको संकेत दिएका छन् ।





