काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ ।
सरकारी वकिल कार्यालयले सोमबार विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा दायर गरेको हो । प्रसाईंलाई जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरिएको थियो । अदालतमा उपस्थित गराउँदा उनका समर्थकहरूले अदालत परिसर बाहिर नाराबाजीसमेत गरेका थिए ।
प्रहरीले विभिन्न युट्युब अन्तर्वार्ता र वीरगन्जमा दिएका सार्वजनिक अभिव्यक्तिलाई अनुसन्धानको आधार बनाएको जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्रसाईंले महिलाविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको, सेना र प्रहरीजस्ता राज्य निकायमाथि अशोभनीय टिप्पणी गरेको आरोप छ ।
एक युट्युब अन्तर्वार्तामा उनले प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई एउटै समूहले सञ्चालन गरिरहेको दाबी गरेका थिए । साथै हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको प्रसंगमा पनि विवादास्पद अभिव्यक्ति दिएका थिए ।





