काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सरकारले ल्याएको नयाँ बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन्।
बजेटले देशमा रोजगारी सिर्जना गर्ने विषयमा ठोस योजना नल्याएको भन्दै उनले सरकारको आलोचना गरेका हुन्।
सामाजिक सञ्जालमार्फत एकपछि अर्को पोस्ट गर्दै अध्यक्ष राईले बजेटले जागिर हुनेहरूको मात्र ध्यान दिएको तर बेरोजगार युवाहरूलाई उपेक्षा गरेको आरोप लगाए। उनले लेखेका छन्, ‘जागिर हुनेको त तलब बढ्यो। नहुनेको चाहिँ के बढ्यो? जागिर माग्न आउनु है युवा हो। १२ लाखलाई जागिर दिने कुरा थ्यो चुपचाप भन्दै गर्दा।’
उनले युवाहरूलाई न्यूनतम तलबसहितको नयाँ रोजगारी नदिई सरकारी कर्मचारीको मात्र तलब बढाउने कदमको विरोध गर्ने चेतावनी समेत दिएका छन्। स्वदेशमै व्यापक आर्थिक क्रान्ति र रोजगारीको माग गर्दै अब आन्दोलनमा उत्रिन उनले युवाहरूलाई आह्वान गरेका छन्।
विशेष गरी निर्वाचनका बेला आफ्नो ‘करार पत्र’ मार्फत आगामी पाँच वर्षभित्र सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि र उद्योगका क्षेत्रमा १२ लाख नयाँ मर्यादित रोजगारी सिर्जना गर्ने घोषणा गरेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै साम्पाङले यो प्रश्न उठाएका हुन्।






