काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा देखिएको लोकप्रियतावाद (पपुलिजम) को लहर दिगो नहुने दाबी गर्दै समाज रूपान्तरणका लागि कम्युनिष्ट पार्टीकै नेतृत्व अपरिहार्य रहेको बताएका छन्।
शनिबार राजधानीमा आयोजित जनवर्गीय सङ्गठन समन्वय मोर्चाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले नागरिकको मन र विश्वास जित्न कार्यकर्ताहरूलाई गाउँ-गाउँ पुग्न निर्देशन दिए।
पार्टीभित्रका गल्ती र कमजोरीहरू सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै सहसंयोजक नेपालले भने, ‘हामीले विगतका कतिपय गलत विचारहरू बोकेर हिँड्यौँ होला, तर अब ती कमजोरी सच्याउनुपर्छ। समाज बदल्ने एउटा मात्र उद्देश्यका साथ कम्युनिष्ट पार्टीमा जनतालाई आबद्ध गराउनु अहिलेको आवश्यकता हो।’
उनले नेता-कार्यकर्तामा आत्मविश्वास र दृढ सङ्कल्प भए मात्र बाँकी चुनौतीहरूको सामना गर्न सकिने धारणा राखे। आफ्नो भूमिगत कालको अनुभव सुनाउँदै नेता नेपालले भने, ‘२०३६ सालमा म एउटा नचिनेको गाउँमा गएर एउटी आमाको घरमा आश्रय लिएको थिएँ। सुरुमा उहाँहरू डराउनुभएको थियो, तर मैले घरको काममा सघाउने र उहाँहरूको कुरा सुन्न थालेपछि राति १२ बजेसम्म पनि कुरा गर्ने स्थिति बन्यो। त्यो लगनशीलता र विश्वासले नै उनीहरू पार्टीप्रति प्रतिबद्ध भए।’
नेताहरू जनतासँग घुलमिल नभएकै कारण पार्टी कमजोर भएको उनको तर्क थियो। कार्यक्रममा नेता नेपालले पार्टीका विभिन्न तहमा रहेका र राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूको कार्यसम्पादनको मूल्याङ्कन गरिने घोषणा गरे।





