काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय गरेर स्वदेशी ऊर्जा प्रयोगलाई निरुत्साहित गरेको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै महासचिव पोखरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिटभन्दा माथि विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको भन्दै प्रश्न उठाएका छन् ।
उनले नेपाल जलस्रोतका हिसाबले विश्वकै धनी राष्ट्रमध्ये एक भएको उल्लेख गर्दै स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम भएको बताएका छन् ।





