प्रधानमन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार छैन : भीम रावल

२०८३ जेष्ठ १७, आईतवार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जार फेसबुकमा एक स्ट्याटस लेख्दै उनले संसद्‍मा झुटा कुरा गर्ने व्यक्ति एकछिन पनि पदमा बसिरहने नैतिक अधिकार नभएको बताए।

आज नेपाल र नेपाली जनताको लागि विस्मयको दिन रहेको बताउँदै उनले भने,‘देशको सार्वभौमसत्ता अखण्डता र सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ’ भन्ने जस्तो अत्यन्त आपत्तिजनक कुरा भन्नुभएछ। नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन।’

आफ्नो भू–भाग अरू देशलाई सुम्पने किसिमको अभिव्यक्ति संसद्‍मा दिने व्यक्ति नेपालको प्रधानमन्त्रीको पदमा आसिन हुनु नेपाल र नेपाली जनताको ठूलो दुर्भाग्य ठहरिने उनको भनाइ छ। उनले प्रधानमन्त्रीले भारतको जग्गा नेपालले कहाँ, कति र कहिलेदेखि मिचेको तत्काल नेपाली जनतालाई जानकारी गराउनुपर्ने माग गरे।

कहिल्यै कसैको अधिनमा नगएको स्वाधीन, स्वाभिमानी र अखण्ड नेपालका देशभक्त नेपाली जनताले तत्काल प्रधानमन्त्रीको जवाफ माग्नुपर्ने बताउदै उनले भने, ‘झन्डै दुई तिहाइ बहुमतका साथ नेपाल सरकारको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र त्यसका सांसद र सदस्यहरूको धारणा नेपाली जनताले तत्काल पाउनुपर्छ र जनताले त्यस्तो जवाफ खोज्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार