श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित तीनजना पक्राउ

२०८३ जेष्ठ १९, मंगलवार

बागलुङ : बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको जैमिनी नगरपालिका–१०, राङखानी हाडीकोटमा मजदुरी गर्दै आएका लमजुङको क्व्होलासोथार गाउँपालिका–६ का ६२ वर्षीय देउबहादुर सार्कीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीसहित तीनजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार, सार्कीकी श्रीमती २६ वर्षीया लक्ष्मी नेपाली, पोखरा महानगरपालिका–२६ जलधारेका ३८ वर्षीय रामआकाश विश्वकर्मा र मादी गाउँपालिका–३, यांगजाकोटका ५६ वर्षीय आसपुरे कामीलाई पक्राउ गरिएको छ ।

मृतक सार्कीसहित चारैजना हाडीकोटमा मजदुरी गर्दै आएका थिए । सोमबार बिहान छोरेडाँडाखानी गाउँमा मदिरा सेवा गर्ने स्थलतर्फ जाँदै गर्दा सामान्य विवाद हुँदा सार्कीलाई तीनजनाले ढुंगा प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक प्रसाईंले बताए । जिल्ला अदालत बागलुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रहरी उपरीक्षक प्रसाईंले भने, “जैमिनीको हाडीकोटमा उनीहरू सबै मजदुरी गर्न आएका रहेछन्, मदिरा सेवा गरी सामान्य झैझगडा हुँदा हत्यासम्मको स्थितिमा पुगेछ, हामीलाई जंगलमा मजुदरको शव फेला परेको खबर पाउँदा साथ प्रहरी टोली त्यहाँ पुगेको थियो । राति नै हत्यामा संलग्न भएका तीनजनालाई गाउँबाटै नियन्त्रणमा लिएका हौँ ।”

मृतक सार्की र उनकी पत्नी नेपालीबीच ३६ वर्षको उमेरअन्तर देखिन्छ । बेलाबेलामा श्रीमान्–श्रीमतीबीच सामान्य झगडा पहिलेदेखि नै हुँदै आएको अनुसन्धानमा खुलेको प्रसाईंले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ । मृतक सार्कीको जेठी श्रीमतीतर्फ दुई छोरी, माइलीतर्फ एक छोरा र हालकी श्रीमतीबाट चार वर्षको छोरा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार