काठमाडौं : नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन र सिफारिसहरूको पूर्ण कार्यान्वयन अनिवार्य हुनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा आयोगले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन र सिफारिसका विषयमा बोल्दै उनले विगतमा आयोगका सिफारिसहरू कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको र दोषीहरूले सजाय नपाएको अवस्था दोहोरिन नहुने बताए ।
उनले नेपाली कांग्रेस अहिले नयाँ सोचका साथ अघि बढिरहेको उल्लेख गर्दै मानव अधिकारका सवालमा पार्टीले कुनै पनि ‘दोहोरो मापदण्ड’ नअपनाउने स्पष्ट पारे । यसैबीच मानव अधिकार आयोगले उठाएका प्रश्न र सिफारिसलाई गम्भीर रूपमा लिइएको बताउँदै उनले प्रतिवेदन कार्यान्वयनलाई अब राजनीतिक प्रतिबद्धताको विषय बनाइने बताए ।
थापाले भने, ‘मानव अधिकार आयोगका प्रतिवेदनहरू यसअघि पनि धेरै पटक आए, सिफारिसहरू पनि भए, तर तिनको कार्यान्वयन भएन । यदि ती सिफारिसहरूको कार्यान्वयन भएको भए धेरै मानव अधिकार हननका दोषीहरूले सजाय पाउने थिए र पीडितहरूले न्याय पाउने अवस्था हुन्थ्यो । यो प्रश्नलाई हामीले गम्भीर रूपमा लिएका छौँ ।’





