काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका काम कारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको छ।
कांग्रेसद्वारा गठित मन्त्रालयगत संयोजकहरूको आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको हो।
कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बे नेतृत्वमा बसेको बैठकले संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने र सरकारका कामबारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको उनको सचिवालयले जनाएको छ। मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूबारे आइतबार धारणा पनि राखेका छन्।
बैठकमा मन्त्रिपरिषदको निर्णय तथा सरकारका कामकारबाहीको नियमित निगरानी गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसदमा प्रभावकारी ढंगले विषय उठाउने विषयमा छलफल भएको थियो।








