काठमाडौं : पर्सास्थित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध गलत विवरण पेस गरी भट्टराई थर भएको महिलाकी छोरीलाई आफ्नी छोरी रुबीना श्रेष्ठ बनाई नागरिकताको प्रमाणपत्र दिलाएको भन्ने आरोप छ ।
उनीसँगै वीरगंज महानगरपालिका, वडा नं. ३ का तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन वडासदस्य (कावा वडाध्यक्ष) तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोख्रेल, गृह मन्त्रालयका (छानबिन समितिका संयोजक र सदस्य) तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल, सिन्धुपाल्चोक इन्द्रावती–१० की रिता भट्टराईविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।








