भूमि प्रशासनका नायब सुब्बा घुस लिँदै गर्दा पक्राउ

२०८३ जेष्ठ ३१, आईतवार

मनाङ : भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कँडेललाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा पोखराबाट खटिएको आयोगको टोलीले कँडेललाई नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नायब सुब्बा कँडेललाई सेवाग्राहीबाट ४० हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको हो । सो क्रममा घुस रकमसहित स्रोत नखुलेको २१ हजार ७० समेत बरामद भएको उनले जानकारी दिए ।

नियन्त्रणमा लिइएका कँडेलमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता न्यौपानेले बताए । अख्तियारले सार्वजनिक सेवामा हुने भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि उजुरीका आधारमा निगरानी तथा कारबाहीलाई निरन्तरता दिँदै आएको जनाएको छ । घटनाबारे थप अनुसन्धानपछि कानुनी प्रक्रिया अगाडि बढाइने आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार