काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन बहिष्कार गरेका प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले नवनिर्वाचित सभापति रवि लामिछानेलाई बधाई दिएका छन् ।
पार्टीको आन्तरिक गतिविधि र विशेषगरी मन्त्री चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै महाधिवेशनमा सहभागी नभएका सांसद सिंहले सामाजिक सञ्जालमार्फत लामिछानेलाई शुभकामना दिएका हुन् ।
चितवनमा भइरहेको रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनबाट लामिछाने मंगलबार पुनः सभापति पदमा निर्विरोध चयन भएका थिए । उक्त पदका लागि अन्य कसैको पनि उम्मेदवारी नपरेपछि पार्टीको निर्वाचन आयोगले उनलाई सर्वसम्मत रूपमा निर्वाचित घोषणा गरेको हो ।
पार्टी नेतृत्वसँग रुष्ट रहेर महाधिवेशनस्थल नगए पनि सांसद सिंहले सामाजिक सञ्जालमा शुभकामना सन्देश लेख्दै भनेका छन्, ‘रास्वपाको पहिलो महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित हुनुभएका मा. रवि लामिछानेज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। उहाँको नेतृत्वमा लोकतन्त्र र सुशासन संस्थागत हुने पूर्ण विश्वास लिएको छु ।’





