काठमाडौं : दुग्ध विकास संस्थान (डीडीसी) नेपालको दुग्ध क्षेत्रको इतिहास बोकेको संस्था हो। आम उपभोक्ताको विश्वास जितेको यस संस्था अझैपनि बजारिकरण अभाव, तीव्र प्रतिस्पर्धा र व्यवस्थापकीय कमजोरीका कारण गति लिन सकिरहेको छैन।
काठमाडौं दुग्ध वितरण आयोजना वालाजुका प्रमुख चक्रवर्ती पौडेल डीडीसीले आफ्नो गुणस्तरमा विश्वास आर्जन गरे पनि व्यावसायिक विज्ञापन र ब्राण्डिङमा अझै पछि परिरहेको स्वीकार्छन्। हाल बजारमा देखिएको खुला दुधको दबदबा र बढ्दो मागलाई सम्बोधन गर्न संस्थानले अब परम्परागत शैली त्यागेर आधुनिक बजारीकरण र नीतिगत सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको पौडेल बताउँछन्।
संस्थानले लामो समयदेखि कुनै पनि औपचारिक विज्ञापन वा मार्केटिङ अभियान सञ्चालन गरेको छैन। उपभोक्ताको मनमा रहेको विश्वास स्वतःस्फूर्त रूपमा बनेको हो, जसलाई रणनीतिक रूपमा व्यावसायिक ब्राण्डिङमा परिणत गर्न सकिएको छैन। डीडीसी अब बदलिँदो बजार र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न आक्रामक ब्रान्डिङ, विज्ञापन र बजार प्रवद्र्धनमा केन्द्रित हुने तयारीमा जुटेको छ।
‘वास्तवमा हामी चुकेको क्षेत्र नै मार्केटिङ हो। आफ्ना उत्पादनको व्यवस्थित विज्ञापन गरेकै छैनौं। उपभोक्ताले सरकारी संस्था भएकाले गुणस्तरमा विश्वास गरेर उत्पादन खरिद गरिरहेका छन्। त्यही विश्वासकै आधारमा डीडीसी टिकिरहेको छ,’ उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने।
उनका अनुसार पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा डीडीसीको याक चिज खाएको फोटो पोष्ट गर्नुका साथै सार्वजनिक कार्यक्रममा, मन्त्रिपरिषदको बैठकहरुमा डीडीसीको दुग्धजन्य सामाग्रीको उपभोगले भने संस्थानले ब्रान्डिङको शक्ति प्रत्यक्ष रूपमा अनुभव गरेको छ।
‘प्रधानमन्त्रीज्यूले याक चिज खाइसकेपछि हाम्रो आउटलेटहरूमा पहिलेको तुलनामा लगभग दोब्बर अनुपातमा बिक्री भइरहेको छ। त्यसपछि पनि ब्रान्डिङ र मार्केटिङ कति आवश्यक रहेछ भन्ने अझ स्पष्ट भएको छ,’ पौडेलले बताए।
उनका अनुसार अहिले डीडीसीमा नयाँ नेतृत्व आएको छ र नयाँ महाप्रबन्धकले पनि विज्ञापन तथा बजार विस्तारलाई प्राथमिकतामा राखेका छन्। केन्द्रीय कार्यालयले विज्ञापनका लागि बजेट छुट्याउने, होर्डिङ बोर्ड राख्ने, प्रचारात्मक अभियान सञ्चालन गर्ने तथा ब्रान्डलाई नयाँ ढंगले प्रस्तुत गर्ने तयारी गरिरहेको छ।





