काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सांसदहरूको अभिव्यक्ति स्वतन्त्रता र संसदीय अनुशासनलाई लिएर नयाँ बहस सुरु भएको छ । रास्वपा संसदीय दलले अबदेखि संसद्मा बोल्नुअघि आफ्ना सांसदहरूलाई विषयवस्तुबारे सचेतकहरूलाई अनिवार्य जानकारी गराउन निर्देशन दिएको छ ।
संसदीय दलका सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले सांसदहरूलाई एउटा आन्तरिक सन्देश पठाउँदै संसद्मा बोल्नुभन्दा एक दिनअगावै आफ्नो ‘स्पिच नोट’ बुझाउन भनेका हुन् । पार्टीको यो कदमलाई कतिपयले सांसदहरूको ‘विशेषाधिकार’माथिको अङ्कुश र ‘सेन्सरसिप’ को रूपमा बुझेका छन् । तर, सचेतक प्रकाशचन्द्र परियार भने यसलाई नियन्त्रण नभई संसद्को प्रभावकारिता बढाउने प्रयास दाबी गर्छन् ।
रास्वपा नेतृत्वले यो कडाइ गर्नुको पछाडि पछिल्लो समय संसद्मा सांसदहरूले आफ्नै पार्टी सहभागी सरकार र कार्यशैलीमाथि उठाएका प्रश्नहरू मुख्य कारण रहेको अनुमान गरिएको छ ।








