काठमाडौं : श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । सरकारले घटनाको छानबिनका लागि आयोग गठन गर्नुका साथै आपराधिक अनुसन्धान पनि सुरु गरेको छ ।
सोमबार भएको झडपमा १०० भन्दाबढी व्यक्ति घाइते भएका छन् । सुरक्षा व्यवस्था कडा पारिए पनि कारागारभित्र सशस्त्र प्रहरी परिचालन गरिएको छैन । कारागारको बाहिरी सुरक्षाका लागि भने सुरक्षाकर्मी तैनाथ गरिएको छ । न्यायमन्त्री हर्षना नानायक्काराले संसद्लाई जानकारी दिँदै घटनाको छानबिनका लागि सरकारी आयोग गठन गरिएको र समानान्तर रूपमा आपराधिक अनुसन्धान अघि बढाइएको बताए ।
प्रहरीका अनुसार प्रतिद्वन्द्वी लागूऔषध कारोबारमा सङ्लग्न समूहबीच कारागारभित्र झडप भएको थियो । झडपका क्रममा कैदीले केही सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर हतियार खोसेपछि गोली चलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नानायक्काराका अनुसार दङ्गाका क्रममा कैदीहरूले कारागारभित्र जडान गरिएका सीसीटीभी क्यामेरासमेत तोडफोड गरेका थिए ।
अस्पतालका चिकित्सकका अनुसार गोली लागेका, धारिलो हतियारबाट घाइते भएका तथा अन्य गम्भीर चोटपटक लागेका ९७ जना नेगोम्बो अस्पतालमा उपचाररत छन् । तीमध्ये २३ जना कारागारका अधिकारी रहेका छन् । अन्य १९ जना कैदीको कोलम्बोस्थित अस्पतालमा उपचार भइरहेको छ ।
अधिकारीले केही कैदीलाई सुरक्षा व्यवस्थापनका लागि अन्य कारागारमा स्थानान्तरण गरिएको जनाएका छन् । कारागारमा रहेका विदेशी नागरिकलाई पनि सावधानीका रूपमा अन्यत्र सारिएको छ । घटनापछि श्रीलङ्काको कारागार प्रणालीमा रहेको अत्यधिक भीडभाडको समस्या पुनः चर्चामा आएको छ ।
सरकारी तथ्याङ्कअनुसार देशका कारागार निर्धारित क्षमताभन्दा करिब चार गुणा बढी कैदी राखेर सञ्चालन भइरहेका छन् ।








