संसदीय दलको नेताबारे हाम्रो विधानको प्रावधानलाई अपव्याख्या गरियो : गणेश पराजुली

२०८३ असार २४, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले पार्टीको विधानमा गरिएको संसदीय दलको नेता पदबाट हट्ने व्यवस्थालाई अनावश्यक रूपमा अपव्याख्या गरिएको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रत्येक राजनीतिक दलका आफ्नै विधान हुने र सोही विधानले पार्टी सञ्चालनका सबै प्रक्रिया निर्देशित गर्ने बताए ।

उनले भने, ‘कुनै पदको अन्त्य कहिले हुन्छ ? कसरी हुन्छ ? भनेर व्याख्या गरे जस्तै संसदीय दलको नेताको पनि पदको अन्त्य कसरी हुन्छ ? भनेर गरिएको व्याख्यामध्येको एउटा व्याख्या भएको हुन्छ । जुन आशयसहित उठान भएको छ, त्यसमा अपव्याख्या भएको भन्ने बुझाइ छ ।’

सभापति बन्ने मापदण्ड, पदबाट हट्ने अवस्था तथा बर्खास्तीका प्रावधानहरू विधानमै स्पष्ट रूपमा उल्लेख भएको बताए । उनले थपे, ‘सबै राजनीतिक दलका आफ्ना विधान हुन्छन् र त्यो विधानले सबै कुरा निर्देशित गरेको हुन्छ । सभापति बन्नका लागि क्राइटेरिया के चाहिन्छन् ? कसरी सभापति बन्ने ? र सभापतिको पनि बर्खास्ती अथवा पद हट्ने, पदबाट हट्ने अवस्थाको परिकल्पना विधानमा गरिएको हुन्छ ।’

केन्द्रीय समितिबाट पारित गरिएको विधानमा अन्य पदाधिकारीको जस्तै संसदीय दलको नेताको पद कहिले र कसरी अन्त्य हुन्छ ? भन्ने व्यवस्था गरिएको स्पष्ट पारे।

उनले भने, ‘केन्द्रीय समितिबाट पारित भएको कुरा हो । यसमा अन्यथा लिनुपर्दैन, संसदीय दलका उपनेताको पनि बर्खास्तीको कुरा गरिएको छ । त्यसको कुनै चर्चा भएन । विधान बन्दै गर्दा एउटा व्यक्ति अथवा एउटा पद हेरेर होइन, पार्टीलाई आगामी दिनमा अगाडि बढाउँदै गर्दा कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्ने उद्देश्य राखेर विधान बनाइएको हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार