काठमाडौँ : उमा भुजेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले ९१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ गठन गरेको छ । बिहीबार नेकपाले विज्ञप्ति जारी गर्दै उमा भुजेलको नेतृत्वमा भेला आयोजक समिति गठन गरेको जानकारी दिएको हो । आगामी भदौ मसान्तभित्र राष्ट्रिय भेला सम्पन्न गर्ने लक्ष्यका साथ उक्त समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा राष्ट्रिय राजनीति, वैदेशिक हस्तक्षेप र कम्युनिस्ट आन्दोलनभित्र देखिएको विचलनबारे गम्भीर समीक्षा गरिएको छ । संयोजक भुजेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको राष्ट्रिय स्वाधीनता विश्व महाशक्तिहरूको होडबाजी र भूमण्डलीकृत पुँजीवादी साम्राज्यवादले नेपालको जलस्रोत, खनिज र भू–राजनीतिक अवस्थामाथि आँखा गाडेको दाबी विज्ञप्तिमा गरिएको छ । विशेष गरी चीनलाई घेर्ने रणनीतिअनुसार नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत पार्ने योजना भइरहेको आरोप पार्टीले लगाएको छ ।
यसैगरी बालेन नेतृत्वको सरकारलाई ‘निरङ्कुश र फासीवादी’ को संज्ञा दिइएको छ । सुकुमबासीहरूमाथिको दमन, धर्मनिरपेक्षता र सङ्घीयतामाथिको प्रहार, मजदुर तथा किसान विरोधी बजेट र बढ्दो वैदेशिक ऋणको भारले मुलुक आक्रान्त बनेको भन्दै सरकारको आलोचना गरेको छ ।
यस्तै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न विभिन्न माओवादी घटकहरूबिचको एकता अनिवार्य रहेको विज्ञप्तिमा उल्लेख छ । भुजेल विप्लव नेतृत्वको नेकपा(माओवादी)बाट निष्कासित भएकी थिइन्।





