मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो

२०८३ असार २६, शुक्रबार

नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा पूजाआजासँगै व्यायम गर्नका आउने मानिसहरुको सङ्ख्या बढ्दै गएको छ ।

महेन्द्र राजमार्गको गैँडाकोटबाट करिब चार किलोमिटर उत्तरमा पहाडको टाकुरामो रहेको यस मन्दिरमा स्थानीयहरु दैनिक व्यायम गर्नसमेत आउने गरेका छन् । धार्मिक सेवा समिति मौलाकालीका अध्यक्ष खगेन्द्रदास कँडेलले टाढाटाढाबाट देवी कालीको दर्शन गर्न श्रद्धालुहरु आउने गरेका उल्लेख गर्दै स्थानीयहरु पूजाआजासँगै दैनिक शारीरिक व्यायमका लागि आउने गरेका बताए।

“ऐतिहासिक शक्तिपीठको रुपमा रहेको यस मन्दिरमा नेपालबाट मात्रै नभएर भारतबाट समेत भक्तजन आउने गरेका छन्”, उनले भने, “तर, स्थानीय युवाहरु व्यायम गर्नका लागि दैनिक मन्दिरमा आउने गरेका छन् ।” कँडेलले सामान्य दिनको तुलनामा बिदाको दिनमा मन्दिरमा भक्तजनहरुको उपस्थिति बढी हुने बताए । “मन्दिरमा दैनिक रुपमा दुई हजारभन्दा बढी श्रद्धालुहरु आएर दर्शन गर्नुहुन्छ”, अध्यक्ष कँडेलले भने, “शनिबारसहित बिदाको दिन तथा चाडपर्वमा भने यहाँ भक्तजनको अत्यधिक भीड हुने गरेको छ ।”

मन्दिरमा विशेष गरी नवदुर्गा (ठूलो दसैँ), माघे सङ्क्रान्ति, सरस्वती पूजा, चैतेदसैँ, नयाँ वर्षजस्ता विशेष अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको कँडेलको भनाइ छ । “दसैँ र नयाँ वर्षमा यहाँ देवीको दर्शनका लागि आउने मानिसहरु पाँच–छ घण्टासम्म लाइन बसेर दर्शन गर्नुपर्ने अवस्था छ”, कँडेलले भने, “विशेष पर्वहरुमा हामीलाई यहाँको व्यवस्थापनमा निकै कठिन हुँदै आएको छ ।

समुद्री सतहबाट ५६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ । १६औँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सृजना गरेपछि यस पर्वत (मौला पहाड) को नाम रहन गएकाले यसको ऐतिहासिक महत्व भएको मन्दिरका मूल पुजारी क्षेत्रप्रसाद पराजुलीले बताए ।

“सोह्रौँँ शताब्दीमा यस ठाउँ पाल्पा राज्यको रुपमा अवस्थित थियो । राजा मणिमुकुन्द सेनले आफ्नो सुरक्षाका निम्ति सेनाको ब्यारेक स्थापना गरेका थिए”, उनले भने, “राजा यस ठाउँमा आएर स्नान र पूजा गर्थे । सेनाले भगवान्को आस्थास्वरुप देवीको स्थापना गरेर पूजा गर्ने गरेका थिए ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार