काठमाडौं : बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ ।
अबदेखि मोबाइल वा ‘वेब एप्लिकेसन’ (एप) बाटै खाता बन्द गर्न सकिने भएको हो । नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा ऐपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता घटाउने कार्ययोजना नै बनाउन भनेको छ । साथै, आगामी पुससम्म त्यस्तो कार्ययोजना लागु गरिसक्न केन्द्रीय बैंकले निर्देशन दिएको हो । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा रहेका सक्रिय खाता निष्क्रिय हुनुपूर्व कल, एसएमएस र इमेल लगायत माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनुपर्ने छ ।
बैंक तथा वित्तीय संस्थाले निष्क्रिय खाता सक्रिय गराउन कम्तीमा ६ महिना अवधि अन्तरालमा ग्राहकलाई कल, एसएमएस र इमेल गरेर अनुरोध गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा रहेका खाता सम्बन्धित संस्थाको नेपालभरिका जुनसुकै शाखा कार्यालय वा मोबाइल/वेब एप्लिकेसन मार्फत ग्राहकले सहज बन्द गर्न सक्ने व्यवस्था गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । साथै, यसरी ग्राहकले उपस्थित भई वा मोबाइल/एपमार्फत ग्राहकले खाता बन्द गर्न अनुरोध गरेको खण्डमा खातामा रहेको पैसा निजले तोकेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिदिनुपर्ने छ ।
बैंक तथा वित्तीय संस्थाको नेपालभरिका जुनसुकै शाखा कार्यालयबाट समेत ग्राहक पहिचान गरी सहज खाता पुन: सक्रिय गर्न सक्ने व्यवस्था गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय भई पुन: सञ्चालन भएका खातामा हुने अस्वाभाविक कारोबार निगरानी गर्ने प्रणाली विकास गर्नसमेत केन्द्रीय बैकले व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाता प्रयोग गरी हुन सक्ने अवैध रकम कारोबार हुन सक्ने सम्बन्धी जनचेतना सामग्री प्रसारण गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । साथै, वित्तीय अपराधका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न नियमित विभिन्न सामग्री निर्माण गरी प्रसारण गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।








