काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सडक विस्तारलाई मात्र विकासको मापदण्ड मान्ने सोच परिवर्तन गर्नुपर्ने बताएका छन्।
उनले सडक सुरक्षाका लागि पूर्वाधार सुधार, गुणस्तरीय सार्वजनिक यातायात र सचेतनामूलक परिवर्तनलाई समान प्राथमिकता दिनुपर्ने धारणा राखे।शुक्रबार नेपाली कांग्रेसको ‘ग्रीन टेबल’ कार्यक्रमअन्तर्गत आयोजित ‘सडक सुरक्षा व्यवस्थापनः दण्डात्मक नियन्त्रण कि सचेतनात्मक रूपान्तरण?’ विषयक छलफलमा बोल्दै थापाले सडक चौडा बनाउँदैमा यातायात समस्या समाधान नहुने स्पष्ट पारे।
‘सडक विस्तार गरेर मात्रै सहर व्यवस्थित र समृद्ध हुन्छ भन्ने सोचबाट हामी बाहिर निस्कनुपर्छ,’ उनले भने। ‘डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सडक विस्तारको व्यापक अभियान चल्यो। त्यतिबेला काठमाडौंको ट्राफिक समस्या समाधान हुने अपेक्षा गरिएको थियो, तर त्यसले मात्रै अपेक्षित परिणाम दिएन।’
थापाले सडक विस्तारसँगै सार्वजनिक यातायात, सुरक्षित फुटपाथ, साइकल लेन तथा पैदलमैत्री पूर्वाधारमा पर्याप्त लगानी नगर्दा समस्या यथावत् रहेको बताए।








