काठमाडौं : नेपाली चलचित्र भाडदौड शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आएको निर्माण पक्षले जनाएकाे छ ।
चलचित्रको मुख्य भूमिकामा कलाकार घनश्याम जोशी र विशाल पोखरेल छन् । यो सिनेमाले जीवनको भागदौडको कथा भन्छ। अर्थात् आममानिसको जीवनको दौडधुपलाई चलचित्रको पर्दामा उतारिएको छ। यो जीवनको संघर्ष र यथार्थ बोकेको हास्यव्यंग्यप्रधान चलचित्र हो ।
जोशी र पोखरेलसँगै चलचित्रमा अनिषा श्रेष्ठ, शारदा राई, शेखर चापागाईंलगायत कलाकार प्रमुख भूमिकामा छन् । त्यस्तै, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर, महर्जन, सुशास तिमिल्सिनाजस्ता सिनेमाको पर्दामा स्थापित कलाकारहरूको अभिनय रहेको छ ।
यो चलचित्र सुप्रिम म्युजिक एन्ड फिल्म प्रालिले निर्माण गरेको हो । विश्वराम विष्ट निर्माता रहेको चलचित्रको लेखन तथा निर्देशन हिमाल उप्रेतीले गरेका हुन्। चलचित्रका गीतहरूमा वसन्त सापकोटा र प्रकाश नेपालीले संगीत भरेका छन् भने गीतको लेखन वसन्त सापकोटा र निर्देशक उप्रेतीले गरेका छन्। गीतहरूमा मिलन नेवार, अस्मिता अधिकारी र प्रह्लाद तिमिल्सिनाजस्ता लोकप्रिय गायक–गायिकाले स्वर दिएका छन्।








