काठमाडौं : फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा नर्वेले मियामीस्थित हार्ड रक स्टेडियममा इंग्ल्यान्डको सामना गर्दैछ ।
दुवै टोली सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन् । नेपाली समय अनुसार यी दुई टोली बीचको खेल आईतबार बिहान २:४५ बजे सुरु हुनेछ ।
नर्वे फुटबल संघले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रशिक्षण सत्रका तस्बिर सार्वजनिक गर्दै टोली इंग्ल्यान्डविरुद्धको निर्णायक खेलका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ । पोस्टमा लेखिएको छ,‘निर्णायक दिनअघिको दिन ।’
प्रशिक्षक स्टाले सोलबाकेनको नेतृत्वमा रहेको नर्वे यस विश्वकपमा अप्रत्याशित रूपमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीमध्ये एक बनेको छ । उसले राउन्ड अफ १६ मा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा स्थान बनाएको हो । ब्राजिलविरुद्धको खेलमा एर्लिङ हालान्डले दुई गोल गरेका थिए ।
नर्वेले जारी विश्वकपमा आक्रामक खेल देखाउँदै पाँच खेलमा १२ गोल गरेको छ भने ९ गोल खाएको छ । समूह चरणमा फ्रान्ससँग पराजित भएको खेलबाहेक उसको प्रदर्शन प्रभावशाली रहेको छ । तर नर्वेको बाटोमा आत्मविश्वासका साथ अघि बढिरहेको इंग्ल्यान्ड रहेको छ । थोमस टुचेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्डले राउन्ड अफ १६ मा सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनल पुगेको हो ।








