बाढीले ट्रक बगायो, चालक पौडिएर बच्न सफल

२०८३ असार २९, सोमबार

काठमाडौँ : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक कर्रा खोलामा आएको बाढीले सोमबार बिहान एउटा खाली ट्रक बगाएको छ।

आज बिहान खोलामा आएको बाढीका कारण ह्युम पाइप राखेर बनाइएको कल्भर्ट (लच्का) माथिबाट पानीको बहाव बढ्दा सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको प्रहरीले जनाएको छ। ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी करिब ३४ वर्षीय दिपक थिङ भने पौडिएर सुरक्षित बाहिर निस्किन सफल भएका छन्।

उनको खुट्टामा सामान्य चोट लागेको र उपचारका लागि चौघडास्थित राजु मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हटिया तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घटनामा अन्य कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बाढीले बगाएको ट्रक भने खोलामै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार