काठमाडौं : नेपाली महिला यू-१९ क्रिकेट टोली एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएको छ ।
शुक्रबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको हो । सुपर ओभरमा नेपालले ६ रन मात्र बनाउँदा यूएईले ३ बलमै लक्ष्य पूरा गर्यो । त्यसअघि निर्धारित २० ओभरको खेलमा दुवै टोलीले १०० रन बनाएपछि बराबरी भएर खेल सुपर ओभरमा धकेलिएको थियो ।
यूएईले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १०० रनमा अलआउट भएको थियो । अनु कडायतले सर्वाधिक २० रन बनाइन् भने सना प्रवीण र अलिशा यादवले समान १७ रन बनाए । यूएईका लागि वैष्णवी महेशले ३ विकेट लिइन् भने साइ निखिलले २ तथा मेहक ठाकुर र जननी थिरुकुमारनले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १९.५ ओभरमा अलआउट हुँदै १०० रन बनाएको थियो । मेहुल कुलकर्नीले सर्वाधिक ३० रन बनाइन् भने लावन्या केनीले २५, नेहा कुमारीले अविजित १९ रन बनाइन् । नेपालका लागि रिया शर्मा र अनु कडायतले ३-३ विकेट लिँदा तिर्सना बिकले २ अनि मनिषा उपाध्यायले १ विकेट लिए ।
यूएईले अब उपाधिका लागि थाइल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो स्थानका लागि इन्डोनेसियासँग खेल्नेछ । दुवै खेल भोलि हुनेछन् ।





