काठमाडौं : एनएमबी बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग सँग ‘नागरिक एप’मार्फत सुरक्षित, सहमतिमा आधारित डेटा आदान–प्रदान प्रणाली कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
यस सहकार्यसँगै बैंकका ग्राहकले थप सहज, छिटो र सुरक्षित डिजिटल बैंकिङ सेवाको अनुभव लिन सक्ने भएका छन्।
सम्झौतापछि एनएमबी बैंकका ग्राहकहरूले नागरिक एपमार्फत आफ्ना प्रमाणित व्यक्तिगत विवरण अनलाइन बैंकिङ आवेदन फाराममा सुरक्षित रूपमा स्वतः भर्न सक्नेछन्। यसबाट पटक–पटक विवरण टाइप गर्नुपर्ने झन्झट हट्नुका साथै कागजी प्रक्रिया घट्ने र बैंकिङ सेवा अझ छिटो तथा प्रभावकारी हुने बैंकले जनाएको छ।
बैंकका अनुसार यस प्रणालीमा ग्राहकको गोपनीयता र सूचनाको सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ। ग्राहकले नागरिक एपमार्फत स्पष्ट सहमति दिएको अवस्थामा मात्र आवश्यक विवरण सम्बन्धित सेवाका लागि प्रयोग गरिनेछ। ग्राहकको अनुमति बिना कुनै पनि व्यक्तिगत जानकारी पहुँच वा साझेदारी गरिने छैन।
एनएमबी बैंकले यो सहकार्यलाई नेपालको डिजिटल सार्वजनिक पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सहज र झन्झटरहित बैंकिङ सेवा विस्तार गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। बैंकका अनुसार यस पहलले डिजिटल बैंकिङलाई थप विश्वसनीय, ग्राहकमैत्री र पहुँचयोग्य बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ ।





