काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
शुक्रबार साँझ भएको डा. पाण्डेको दुःखद निधनको खबरले आफू अत्यन्त मर्माहत भएको उनले एक सन्देश जारी गर्दै बताएका हुन् ।
नेपालमा लोकतन्त्रको सुदृढीकरण, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन, पारदर्शिता र उत्तरदायी शासन व्यवस्थाको पक्षमा डा. पाण्डेले पुर्याएको योगदान इतिहासमा सदैव सम्मानका साथ स्मरण गरिने नेता आङदेम्बेले उल्लेख गरेका छन् । विशेषगरी २०६२/०६३ सालको जनआन्दोलनका क्रममा नागरिक समाजका तर्फबाट उनले खेलेको नेतृत्वदायी भूमिका तथा निरंकुशताविरुद्ध निरन्तर उठाएको निर्भीक आवाज लोकतान्त्रिक आन्दोलनका अमूल्य सम्पत्ति भएको आङदेम्बेको भनाइ छ ।
अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सार्वजनिक बौद्धिक व्यक्तित्वका रूपमा डा. पाण्डेले नेपालको आर्थिक नीति, सार्वजनिक प्रशासन, सुशासन र विकाससम्बन्धी बहसलाई नयाँ उचाइमा पुर्याउन दिएको योगदान पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले चर्चा गरेका छन् । डा. पाण्डेको निधनसँगै मुलुकले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतान्त्रिक मूल्यका दृढ पक्षधर गुमाएको महसुस आफूले गरेको नेता आङदेम्बेले बताएका छन् ।





