काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको मणिपुर राज्यका २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता जीवन निरौलाका अनुसार थाइल्यान्डको बैंककबाट थाई एयरको उडान नम्बर टीजी ३०९ मार्फत काठमाडौं आएका उनीहरूलाई पक्राउ गरिएको हो ।
ब्युरोका अनुसार उनीहरूले आफ्नो सुटकेसभित्र लुकाएर ल्याएको ८ किलोग्राम थाईल्यान्डको गाँजा बरामद गरिएको छ । उनीहरूबाट दुई थान राहदानी र दुई थान मोबाइल फोन समेत बरामद भएको प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।





