काठमाडौँ : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा विद्युतीय करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मृत्यु हुनेमा भुम्लु गाउँपालिका-७ फलाँटेकी देवी उप्रेती रहेकी छन् ।
प्रहरीका अनुसार भुम्लु गाउँपालिका-८ भुम्लुटार क्षेत्रमा स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा उनलाई विद्युतीय खम्बा अड्याउन प्रयोग गरिएको तारमा प्रवाह भएको करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।





