काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापासहित ७ जना तथा निर्माण कम्पनी बिकोई/धुलिखेल जेभी, बानेश्वर, काठमाडौँविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सर्लाहीकाे बागमती नगरपालिका–११, सर्लाहीस्थित बागमती फनपार्क एण्ड रिसोर्ट निर्माण आयोजनामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता, लागत बढाएर ठेक्का स्वीकृत गर्ने तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा उनीहरूविरूद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे।
तत्कालीन अर्थमन्त्री,सचिवलाई ३५ कराेड बिगाे मागदाबी गरिएकाे छ । त्यस्तै बागमतीका तत्कालीन नगर प्रमुख थापा, तत्कालीन नगर उपप्रमुख लिला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पाेखरेललाई ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ बिगाे मागदाबी गरिएकाे छ।
निर्माण कम्पनी बिकोई/धुलिखेल जेभी र उक्त जेभीका आधिकारीक प्रतिनिधि युवराज पाेखरेललाई पनि साेही रकम बराबर बिगाे मागदाबी गरिएकाे छ । मधेस सरकारका तत्कालीन उपसचिव उद्धवराज न्याैपानेलाई २० कराेड बिगाे मागदाबी गरिएकाे अख्तियारका प्रवक्ता न्याैपानेले बताए।










