काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै दिनमा सत्ता उल्ट्याउन गरी लाग्न वामपन्थी शक्तिहरूलाई आग्रह गरेका छन्।
पुष्पलाल स्मृति दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले प्रतिक्रान्ति अझै पूरा नभइसकेकाले त्यसलाई परास्त गर्न एकै दिनमा सत्ता उल्ट्याउने गरी लाग्नुपर्ने बताएका हुन्। त्यसो गर्न सम्भव छ भन्ने कुरा अहिले सत्तामा रहेकाहरूले सिकाइसकेको प्रचण्डको भनाइ छ।
‘सदनमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने। हामी हाम्रै तरिकाले लड्ने हो तर एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ भनेर त उनीहरूले नै सिकाएका छन्,’ संयोजक प्रचण्डले भने।
उनले त्यसका लागि सबै वामपन्थीहरूले साझा न्यूनतम कार्यक्रम बनाउने र हरेक पार्टीले आफ्नो क्षमताअनुसार राजधानी काठमाडौं र जिल्ला सदरमुकामहरूमा कार्यकर्ता ओराल्नुपर्ने बताए।





