काठमाडौं : अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार (साउन ९) कैलालीको धनगढी पुगेका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले शुक्रबार (साउन ८) साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार (साउन १०) धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने तयारी रहेको शिक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
पाँचबुँदे माग राखेर बिहीबार (साउन ७)देखि उनले २४औँपटक अनशन थालेका हुन् । धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा अनशन बसेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि चिकित्सकको सल्लाहमा शनिबार उनलाई सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।





