काठमाडौं : सिरियामा दुई वटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।
शनिबार भएको यो दुर्घटना पूर्वी सिरियालाई राजधानी दमास्कससँग जोड्ने करिब ४०० किलोमिटर लामो देर एज जोउर–दमास्कस राजमार्गअन्तर्गत अल–सुखनाह र पाल्मिरा बीचको सडक खण्डमा भएको अलजजिराले जनाएको छ ।
सिरियाको गृह मन्त्रालयका अनुसार एउटा बसमा आन्तरिक सुरक्षा बलका सदस्यहरू सवार थिए भने अर्को बसमा सर्वसाधारण यात्रुहरू यात्रा गरिरहेका थिए ।
दुर्घटनापछि उद्धारका लागि तत्काल एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको मन्त्रालयले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि होम्स सैन्य अस्पताल पुर्याउन घटनास्थलमा धेरै वटा हेलिकोप्टरसमेत परिचालन गरिएको सरकारी समाचार संस्था सिरियन अरब न्युज एजेन्सीले जनाएको छ ।
दुर्घटना भएको देर एज जोउर–दमास्कस राजमार्ग कमजोर सुरक्षा मापदण्डका कारण जोखिमपूर्ण सडकका रूपमा परिचित छ ।





