काठमाडौँ : कपिलवस्तुमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनाले उपचारकै क्रममा ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइ गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल कपिलवस्तु अस्पताल पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।





