काठमाडौँ : दाङमा माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु भएको छ।
अर्का किशोर घाइते छन् ।
माटोको ढिस्कोले पुर्दा जिल्लाको राजपुर गाउँपालिका–२ पिपल डाँडाका १३ वर्षीय दीपेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिए।
त्यो घटनामा परी १८ वर्षीय सुमित यादव घाइते छन्। उनी खतरा मुक्त रहेको डिएसपी केसीले बताए।
शनिबार राति ९ बजेतिर बेलास्थित दुर्गा सामुदायिक वन भित्र ट्याक्टरसहित लुकिछिपी माटो लिन भनेर गएका मध्य एक जना बाललको माथिबाट झरेको माटोको ढिस्कोले पुरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
डिएसपी केसीका अनुसार ट्याक्टर चालक स्थानीय २८ वर्षीय रामप्रताप यादवलाई प्रहरीले मध्य राति नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार ढिस्कोले पुर्दा अचेत अवस्थामा उद्धार गरि लमही अस्पताल पुर्याउना साथ चिकित्सकले चेकजाँच पछि उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको शव पोस्टमर्टमका लागि लमही अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार चालकले माथि बाट झरेको पहिरोले दुई बालकलाई पुर्दा घटना भएको प्रारम्भिक बयान गरे पनि प्रहरी आइतबार बिहान मात्रै घटनास्थल पुगेर थप अनुसन्धान गर्ने तयारीमा छ ।
माथि बाट झरेको ढिस्कोले पुरेको हो वा लोड अनलोड गर्दा दुई बालकलाई ढिस्कोले पुरेको थियो भन्ने कुरा अनुसन्धान पछि यकीन हुने प्रहरीले जनाएको छ।





