काठमाडौँ : कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेको हो।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री पदमा दाबी प्रस्तुत गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक प्रदेशसभा सदस्यले साउन १२ गते मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीका लागि आफ्नो दाबी पेस गर्नुपर्नेछ।
यसअघि शनिबार तत्कालीन मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुखले उनको राजीनामा स्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि आवश्यक संवैधानिक प्रक्रिया अगाडि बढाइएको हो।
अब तोकिएको समय सीमाभित्र बहुमत समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यले दाबी पेस गरेपछि संविधानबमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।





