लागुऔषधसहित भारतमा दुईजना पक्राउ

२०८३ श्रावण १०, आईतवार

रौतहट : बारा जिल्लासँग सीमा जोडिएको भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण (मोतिहारी) को घोडासहन क्षेत्रमा प्रहरीले अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सञ्जालविरुद्ध कारबाही गर्दै ६ किलो ५९० ग्राम अफिम बरामद गरेको छ।

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको उक्त अफिमसहित नेपाल र बिहारका दुई महिलालाई शनिबार साँझ पक्राउ गरिएको हो।

भारतीय प्रहरीका अनुसार नेपालबाट मुजफ्फरपुरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा घोडासहन बस स्ट्यान्डमा गरिएको सघन जाँचका क्रममा नौ वटा छुट्टाछुट्टै प्याकेटमा लुकाएर राखिएको अफिम बरामद गरिएको हो। बरामद अफिमको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ५० लाख भारतीय रुपैयाँ रहेको जनाइएको छ।

पक्राउ पर्नेमा बिहारको सुगौली निवासी सीमा देवी र नेपालको बारा जिल्ला, कलैया–बैराठपुर निवासी बदामी देवी रहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा दुवैले लागूऔषध ओसारपसारमा संलग्न रहेको स्वीकार गरेका छन्। उनीहरूले नेपालबाट मोतिहारी हुँदै मुजफ्फरपुर पुर्‍याउने योजनाअनुसार अफिम बोकेको खुलेको छ।

घटनापछि प्रहरीले तस्करी सञ्जालका मुख्य योजनाकार तथा मुजफ्फरपुरस्थित रिसिभरको खोजी तीव्र पारेको जनाएको छ।

मोतिहारी प्रहरीले पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि निगरानी र चेकजाँच थप कडा बनाउँदै आएको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार