नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

२०८३ श्रावण ११, सोमबार

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा अनलाइनमार्फत बैंक खाता खोल्ने सेवा सुरु गरेको छ।

बैंकका अनुसार नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत उपलब्ध क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। यसका लागि आवश्यक क्यूआर कोड बैंकले उपलब्ध गराएको लिंकबाट प्राप्त गर्न सकिने जनाएको छ। यो सेवा १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्रधारी तथा नागरिक एपमा आबद्ध व्यक्तिका लागि लागू हुनेछ।

खाता खोल्ने क्रममा बैंकले ग्राहकको पूर्वसहमतिमा नागरिक एपबाट आवश्यक व्यक्तिगत विवरण सुरक्षित रूपमा प्राप्त गर्ने व्यवस्था मिलाएको छ। यसबाट विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने र सूचनाको गोपनीयता तथा सुरक्षा सुनिश्चित हुने बैंकको दाबी छ।

यद्यपि, नागरिक एपमार्फत खोलिएको खाता पूर्ण रूपमा सञ्चालन गर्न ग्राहकले नजिकको शाखा कार्यालयमा उपस्थित भएर वा भिडियो केवाईसी (KYC) मार्फत प्रमाणीकरण गर्नुपर्नेछ। बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको जनाएको छ।

बैंकका अनुसार नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३४२ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार