काठमाडौं : अमेरिका र इरानबीच जारी सैन्य तथा कूटनीतिक तनावका बिच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ५ प्रतिशतभन्दा बढीको भारी गिरावट आएको छ।
सोमबार कारोबारका क्रममा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेंट क्रूडको मूल्य करिब ५.७ प्रतिशतले घटेर प्रतिब्यारेल ९१.३० अमेरिकी डलरमा पुगेको छ। त्यसैगरी, अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट क्रूड को मूल्य पनि ५.४ प्रतिशतले ओरालो लाग्दै प्रतिब्यारेल ८४.४३ डलरमा झरेको छ।
विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार मध्यपूर्व र फारसको खाडी क्षेत्रमा बढेको तनावका कारण विश्वकै रणनीतिक जलमार्ग होर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजहरूको आवागमन निकै सुस्त भएको छ। यो जलमार्ग भएर विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत (एक-पाँचौँ भाग) हिस्सा प्रशोधन तथा ओसारपसार हुने गर्दछ।
इरान र अमेरिकाबीच जारी गोलाबारी तथा तनावका कारण इन्धन आपूर्ति प्रणालीमा ढिलाइ र चुनौती खडा भए पनि विश्व बजारमा कूटनीतिक हल हुनसक्ने आशा र लगानीकर्ताहरूको उतारचढावका कारण मूल्यमा यो गिरावट आएको विश्लेषण गरिएको छ।





